लोक आवाज ,
काठमाडौं , ०५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय विस्तार गरेको छ।
शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्दै विभिन्न नेताहरूलाई सचिवालय सदस्यमा थप गरेको हो।
विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर, मनिष झा र पुरुषोत्तम यादव रहेका छन्।
बैठकले जगदिश खरेललाई पार्टी प्रवक्ता र डा. मनोहर प्रधानलाई कोषाध्यक्षमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।
यसअघि बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले निर्वाचित पदाधिकारी सम्मिलित सचिवालय गठन गरेको थियो। उक्त सचिवालयमा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य थिए।
नयाँ निर्णयसँगै रास्वपाको सचिवालय थप विस्तार भएको हो।



प्रतिक्रिया !