सुनिल साह ,
जनकपुरधाम, ४ भदौ । धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले नाप नक्सा सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाले गाउँ ब्लक (स्ववासी) जग्गासम्बन्धी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि बिहीबार स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
साबिक मिथलेश्वर महुवाही गाउँ विकास समिति–१ देखि ९ नम्बर वडासम्म फैलिएको गाउँ ब्लकको नाप नक्सा आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। तर, नाप नक्सा पूरा भए पनि अभिलेख अद्यावधिक, दर्तालगायतका प्रक्रिया लामो समयसम्म अघि बढ्न नसक्दा स्थानीयवासी जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए।
नापी कार्यालय धनुषाले नाप नक्सा सम्पन्न भएका जग्गाको अभिलेख अद्यावधिक गरी आवश्यक प्रक्रिया पूरा गरेपछि ३१० थान जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ।
पुर्जा पाएपछि वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। पुर्जा प्राप्त भएपछि जग्गाको स्वामित्व प्रमाणित गर्न तथा बिक्री–वितरण, धितो राखेर कारोबार गर्न र अन्य प्रशासनिक काम गर्नसमेत सहज हुने उनीहरूको विश्वास छ।
नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको बताए।
उनका अनुसार नाप नक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्ण रूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। स्थानीयको सहभागिता, आवश्यक कागजात तथा अन्य प्रक्रिया पूरा हुँदै गएमा लामो समयदेखि बाँकी रहेका यस्ता विषयलाई क्रमशः टुंग्याउँदै पुर्जा वितरण गरिने उनले बताए।
नापी कार्यालयका अनुसार साबिक मिथलेश्वर महुवाही गाविसअन्तर्गत नाप नक्सा सम्पन्न भएका तथा हाल मिथिला बिहारी नगरपालिका–३ मा पर्ने गाउँ ब्लकका ३१० परिवारलाई पुर्जा वितरण गरिएको हो।
कार्यालयले धनुषाका अन्य क्षेत्रमा समेत नाप नक्सा भइसकेका तर विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन बाँकी गाउँ ब्लक तथा स्ववासी जग्गाको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।



प्रतिक्रिया !