गरिमा चौधरी हत्या प्रकरणमा जीतपुरसिमरामा आन्दोलन चर्कियो,

गरिमा चौधरी हत्या प्रकरणमा जीतपुरसिमरामा आन्दोलन चर्कियो,

लोक आवाज ,

बारा, ४ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा बाराको जीतपुरसिमरामा स्थानीयको आन्दोलन चर्किएको छ।

घटनाप्रति आक्रोशित स्थानीयले बिहीबार बिहानदेखि विभिन्न ग्रामीण सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका छन्। प्रदर्शनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात ठप्प भएको छ। बुधबार दिउँसोदेखि बन्द रहेको वीरगञ्ज–पथलैया सडकखण्डमा समेत यातायात प्रभावित भएको छ।

बालिका हराएको जानकारी समयमै गराउँदा पनि प्रहरीले खोजीमा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ। उनीहरूले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्रीमाथि कारबाही गर्न माग गरेका छन्।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै घटनामा प्रहरीको भूमिकामाथि छानबिन गर्न तथा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही गर्न माग गरेका छन्।

घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयसमेत बन्द भएका छन्। विद्यालयहरूले शोकसभा आयोजना गर्दै बालिकाको हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न वार्ताको प्रयास भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनामा संलग्न दोषी पक्राउ परिसकेको र प्रहरीको लापरबाहीसम्बन्धी स्थानीयको आरोपबारे प्रशासनले छानबिन गरिरहेको बताएका छन्।

प्रशासन र आन्दोलनरत पक्षबीच बिहीबार नै निर्णायक वार्ता गर्ने तयारी गरिएको छ। आन्दोलनका कारण जीतपुरसिमरा क्षेत्रको यातायात, विद्यालय सञ्चालन तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार