लोक आवाज,
जनकपुरधाम, १ भदौ । धनुषा जिल्लाका क्षेत्र नं. १ र २ का दर्जनौँ युवा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीहरूलाई धनुषा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रामविनोद यादवको विशेष पहलमा रास्वपाका केन्द्रीय अध्यक्ष रवि लामिछानेले काठमाडौंमा पार्टीमा स्वागत गरेका हुन्।
रास्वपामा प्रवेश गर्नेहरूमा धनुषा क्षेत्र नं. २, औरही गाउँपालिका–१ का नेकपा एमालेका केन्द्रीय सदस्यका प्रत्याशी अमित प्रधान, युवा संघ प्रदेश कमिटी सदस्य इलयाकात राइन, नेकपा एमाले गाउँपालिका सदस्य राजु अधिकारी, एमालेका युवा नेता सुकचेन्द्र यादव, सञ्जय यादव, युवा व्यवसायी प्रमोद चौधरी, युवा नेता अमित यादव र चार्टर्ड एकाउन्टेन्ट (CA) हेमशंकर यादव रहेका छन्।
त्यस्तै, औरही गाउँपालिका–५ का जनता समाजवादी पार्टी (जसपा) नेपालका वडा सभापति रमेश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वडा अध्यक्षका प्रत्याशी किशोरी मण्डल, औरही गाउँपालिका–२ का CA नवीन यादव तथा युवा नेता विक्की यादव पनि रास्वपामा प्रवेश गरेका छन्।
यसैगरी, कमला नगरपालिका–५ का नेकपा एमालेका युवा नेता अरुण यादव र धनुषा क्षेत्र नं. १ अन्तर्गत धनुषाधाम नगरपालिकाका युवा नेता वाचन यादव पनि रास्वपामा आबद्ध भएका छन्।
पार्टी प्रवेश कार्यक्रममा रास्वपा अध्यक्ष रवि लामिछानेले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा देशमा सुशासन, पारदर्शिता र राजनीतिक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ।
धनुषाका विभिन्न राजनीतिक दलमा सक्रिय रहेका युवा नेताहरूको रास्वपा प्रवेशलाई आगामी निर्वाचनको तयारी तथा जिल्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। 




प्रतिक्रिया !