म्यानपावर व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे मागमा सरकारसँग सहमति,

म्यानपावर व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे मागमा सरकारसँग सहमति,

लोक आवाज ,

काठमाडौँ ,०१ भदौ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गर्दै आएको आन्दोलन स्थगित गरेको छ। संघले गत २२ साउनदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएकोमा सरकारसँगको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।

संघले सोमबारदेखि आन्दोलनलाई थप सशक्त बनाउँदै गन्तव्य मुलुकमा नेपाली श्रमिक पठाउने कार्यसमेत रोक्ने घोषणा गरेको थियो। तर, सोमबार युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलपछि सहमति जुटेपछि संघले आन्दोलन स्थगित गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा व्यवसायीहरू नियमित काममा फर्किएको उल्लेख छ। मन्त्री र सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा व्यवसायीले अघि सारेका १५ बुँदे मागमाथि विस्तृत छलफल भएको थियो।

मन्त्रालयले व्यवसायीका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेकाले ती विषयलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गर्ने समझदारी भएको जनाएको छ।

वैदेशिक रोजगारीको क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति पनि भएको छ।

व्यवसायीका मागसँग सम्बन्धित विषयमा थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। विभागबाट समस्या समाधान नभए कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको मन्त्रालयको भनाइ छ।

सरकारसँगको छलफलपछि तत्कालका लागि आन्दोलन स्थगित गर्दै व्यवसायीहरू नियमित काममा फर्किएका हुन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार