ग्यास अभावबीच व्यवसायी संघ अध्यक्षको गोदाममा १३१ सिलिन्डर ग्यास बरामद,

ग्यास अभावबीच व्यवसायी संघ अध्यक्षको गोदाममा १३१ सिलिन्डर ग्यास बरामद,

लोक आवाज ,

जनकपुरधाम ३१ साउन । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएका बेला ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले सञ्चालन गर्दै आएको सागर ट्रेडर्सबाट १३१ सिलिन्डर ग्यास बरामद भएको छ।

जनकपुरधामको बजरंगचोकस्थित सागर ट्रेडर्समा उपभोक्ताहरूको गुनासोका आधारमा अनुगमन टोलीले छापा मार्दा ठूलो संख्यामा ग्यास सिलिन्डर फेला पारेको हो।

नेपाल आयल निगम, महेन्द्रनगर डिपोबाट रामराज सिंहको नेतृत्वमा खटिएको अनुगमन टोलीले सटर बन्द रहेको अवस्थामा पसलमा छापा मार्दा १३१ वटा मनोज कम्पनीका भरिएका ग्यास सिलिन्डर बरामद गरेको जनाएको छ।

अनुगमन टोलीका एक कर्मचारीका अनुसार बजारमा ग्यासको अभाव भइरहेका बेला सटर बन्द गरी ग्यास भण्डारण गरेर राखिएको अवस्थामा सिलिन्डर फेला परेको हो। उपभोक्तालाई ग्यास वितरण नगरी सटरमा ताला लगाएर राखिएको पाइएकाले घटनालाई कालोबजारीको आशंकाका रूपमा लिइएको ती कर्मचारीले बताए।

उनका अनुसार घटनाबारे जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

यता, ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष पण्डितले भने आफूले कालोबजारी नगरेको दाबी गरेका छन्। उपभोक्तालाई वितरण गर्नकै लागि ग्यास राखिएको बताउँदै उनले उपभोक्ताहरूको सूची बनाएर ग्यास बिक्री–वितरण गर्दै आएको बताए।

उनले वितरणका लागि राखिएको ग्यासमा अनुगमन टोलीले छापा मारेको भन्दै आफूले ग्यास लुकाएर राखेको वा कालोबजारी गरेको आरोप अस्वीकार गरेका छन्।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा छानबिन अघि बढाउने जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार