लोक आवाज ,
जनकपुरधाम, ३१ साउन । जनकपुरधाममा खानेपानीको मोटरको स्वीच थिच्ने क्रममा करेन्ट लागेर २३ वर्षीया महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको एकडारा गाउँपालिका–१ की रविन्द्र महतोकी श्रीमती पुनिता कुमारी महतो रहेकी छन्।
प्रहरीका अनुसार पुनिता जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित आफ्ना भिनाजुको घरमा आएकी थिइन्। घरमा खानेपानीको मोटर सञ्चालन गर्न स्वीच थिच्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी पुनितालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



प्रतिक्रिया !