संघीयता र समावेशिताको रक्षामा ‘अग्रगामी मोर्चा’ सक्रिय हुन्छ : परियार

संघीयता र समावेशिताको रक्षामा ‘अग्रगामी मोर्चा’ सक्रिय हुन्छ : परियार

लोक आवाज ,

काठमाडौँ , २३ साउन – प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावनाविपरीत र विचारविहीन ढंगले अघि बढिरहेको आरोप लगाए। उनले सरकारलाई जनताको सेवकका रूपमा बुझ्नुपर्ने भन्दै सरकारलाई अभिभावक मान्ने परम्पराको अन्त्य हुनुपर्ने बताए।

परियारले युवाहरूको सपना, आकांक्षा र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको दाबी गर्दै ती सपना र आकांक्षालाई सार्थक बनाउन मोर्चा गठन गरिएको बताए।

उनका अनुसार मोर्चाले गरिब, सुकुम्बासी, मजदुर तथा उत्पीडित समुदायका पक्षमा सडकदेखि संसद्सम्म आवाज उठाउनेछ। नयाँ भनिएका राजनीतिक शक्तिहरूले नेपालको राजनीतिक इतिहास र विभिन्न आन्दोलनमा भएको योगदानलाई अवमूल्यन गर्न खोजेको आरोप पनि उनले लगाए।

समाज विकासको प्रक्रियामा हरेक पुस्ताको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै परियारले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरीलगायत नेताहरूले गरेका संघर्षलाई नजरअन्दाज गर्न नमिल्ने बताए।

उनले २००७ सालदेखि निरन्तर हुँदै आएको राजनीतिक संघर्ष, मधेस आन्दोलन तथा जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, संघीयता र सामाजिक न्यायका उपलब्धिको पक्षमा ‘अग्रगामी मोर्चा’ दृढतापूर्वक उभिने बताए।

‘संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ,’ उनले भने, ‘सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन।’

आवधिक निर्वाचनबाट आएको पाँच वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्था र विधिभन्दा बाहिर गएर काम गर्न नहुने उनको भनाइ थियो। जनताको धैर्यको सीमा समाप्त भएपछि जनताले नै राजनीतिक परिवर्तनको बाटो खोल्ने चेतावनीसमेत उनले दिए।

अध्यक्ष परियारले वर्तमान संविधान पूर्ण नभए पनि विगतको तुलनामा उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण दस्तावेज भएको बताए। संविधानका उपलब्धिको रक्षा गर्न जनता सचेत र संगठित हुनुपर्नेमा उनले जोड दिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार