लोक आवाज,
रौतहट, २१ साउन । लगातारको वर्षापछि रौतहटको राजपुर नगरपालिका क्षेत्रमा बगेको लालबकैया खोलामा पानीको बहाव बढ्दा हुलाकी राजमार्गको एक भाग डुबानमा परेको छ। सडकमाथिबाट बाढीको पानी बगेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालक जोखिमपूर्ण अवस्थामा आवतजावत गर्न बाध्य भएका छन्।
राजपुर नगरपालिका–२ फतुवा महेशपुरदेखि राजपुरतर्फ जाने हुलाकी सडकखण्डअन्तर्गत लालबकैया नदीको पश्चिमी लच्कामा बाढीको पानी सडकमाथिबाट बग्न थालेपछि यातायात प्रभावित भएको हो। वैकल्पिक मार्गको अभावमा स्थानीयले ज्यानको जोखिम मोलेर सोही सडक प्रयोग गरिरहेका छन्।
स्थानीयका अनुसार हुलाकी राजमार्गको उक्त खण्ड दैनिक सयौं सवारीसाधन र यात्रुले प्रयोग गर्ने मुख्य सडक भए पनि वर्षायाममा लालबकैया खोलाको बाढीले हरेक वर्ष डुबानमा पार्दै आएको छ। यस वर्ष पनि पानीको सतह बढेसँगै सडक जलमग्न हुँदा दुर्घटनाको जोखिम थप बढेको उनीहरूको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार सुरक्षाकर्मी घटनास्थलमा निरन्तर निगरानीमा रहेका छन् र यात्रुको सुरक्षित आवतजावतका लागि आवश्यक सहजीकरण भइरहेको छ।
उनले खोलाको बहाव अझ बढेमा जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै सडकमा आवतजावत पूर्ण रूपमा रोक्नेसम्मको तयारी गरिएको जानकारी दिए। साथै, डुबान भएको सडक पार गर्ने जोखिमपूर्ण प्रयास नगर्न र सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
निरन्तर वर्षा भइरहेकाले लालबकैया खोलाको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले नदी आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
यता स्थानीयवासीले हरेक वर्ष दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी पानी निकासको व्यवस्था गर्ने तथा बाढी प्रभावित क्षेत्रमा स्थायी संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।



प्रतिक्रिया !