लोक आवाज ,
काठमाडौँ, २१ साउन । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो, बाढी र सडक कटान हुँदा आवागमन प्रभावित भएको छ। सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बाढीको जोखिम कायम रहेसम्म रातिको आवागमन बन्द रहने र बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सवारी सञ्चालन गर्न दिइने जनाइएको छ।
यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।
देशका विभिन्न स्थानमा पहिरो र सडक कटानका कारण प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग, सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा अरनिको राजमार्ग, रसुवाको खाल्टे क्षेत्रमा पासाङ ल्हामु सडक, मुगुको ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडक तथा बागलुङ र पाल्पामा कालिगण्डकी करिडोर पूर्ण रूपमा बन्द रहेका छन्।
दोलखाको किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड पनि सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, ललितपुरको पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीको बेनी–जोमसोम सडक तथा पर्वतको मालढुङ्गा–बेनी सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रु र सवारीचालकलाई आग्रह गरेको छ।



प्रतिक्रिया !