ब्रोड पिकबाट निर्मल पूर्जासहित चार आरोहीको शव आधार शिविरमा उद्धार

ब्रोड पिकबाट निर्मल पूर्जासहित चार आरोहीको शव आधार शिविरमा उद्धार

लोक आवाज ,

काठमाडौं, २० साउन । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पूर्जा (निम्स दाइ) सहित चार जना आरोहीको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ।

निर्मल पूर्जाको संस्था ‘इलाइट एक्सपेड’ले सार्वजनिक गरेको जानकारीअनुसार पूर्जासँगै झोङ वाङ, निमा शेर्पा र किलू शेर्पाको शव पनि कठिन उद्धार अभियानपछि सुरक्षित रूपमा आधार शिविरमा ल्याइएको हो।

संस्थाका अनुसार अत्यन्त चुनौतीपूर्ण र जोखिमपूर्ण अवस्थामा मिनिमा शेर्पाको नेतृत्वमा रहेको ग्राउन्ड रिकभरी टोली, सर्बाज खान तथा उद्धारमा खटिएका अन्य सदस्यहरूको समर्पण र व्यावसायिकताका कारण उद्धार अभियान सफल भएको हो।

उद्धार कार्यमा सहयोग पुर्‍याएको भन्दै पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगित–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्च आयोग, नेपाली दूतावास, पाकिस्तान अल्पाइन क्लब तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति इलाइट एक्सपेडले आभार व्यक्त गरेको छ।

संस्थाले जारी गरेको विज्ञप्तिमा निर्मल पूर्जालाई घर फर्काउनु केवल एक पर्वतारोहीको शव ल्याउनु मात्र नभई एक पति, पिता, छोरा, भाइ, मित्र तथा इलाइट एक्सपेड परिवारको महत्वपूर्ण सदस्यलाई घर फर्काउनु भएको उल्लेख गरिएको छ।

साथै, झोङ वाङ, निमा शेर्पा र किलू शेर्पाको शव पनि परिवारसम्म पुर्‍याउन सफल भएकोमा राहत महसुस गरेको संस्थाले जनाएको छ। अझै बेपत्ता रहेका अन्य तीन आरोहीको खोजी जारी रहेको उल्लेख गर्दै उनीहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार