लोक आवाज ,
जनकपुरधाम, २० साउन । धनुषा जिल्लामा सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको संख्या वर्षेनि बढ्दै गएको देखिएको छ। जिल्ला अदालत धनुषाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३३३ वटा नयाँ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी हेमकुमार महतोका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ मुद्दासहित अदालतमा कुल ५०० वटा सम्बन्धविच्छेदका मुद्दा विचाराधीन रहेका थिए। तीमध्ये २८१ मुद्दाको फैसला भइसकेको छ भने २१९ मुद्दा अझै फैसला हुन बाँकी छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा ३१५ वटा नयाँ मुद्दा दर्ता भएका थिए। उक्त वर्ष ३४७ मुद्दाको टुंगो लागेको थियो भने १६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए। तथ्याङ्कले जिल्लामा वैवाहिक सम्बन्धमा तनाव र सम्बन्धविच्छेदका घटना क्रमशः बढ्दै गएको संकेत गरेको छ।
कानुन व्यवसायी राजकुमार महासेठका अनुसार शिक्षाको विस्तार, महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, वैदेशिक रोजगारीका कारण पति–पत्नी लामो समय अलग बस्नुपर्ने अवस्था, सामाजिक सञ्जालको प्रभाव, घरेलु हिंसा तथा पारिवारिक विवादजस्ता कारणले सम्बन्धविच्छेदका घटना वृद्धि भएका हुन्।
उनका अनुसार गरिबी, बेरोजगारी, बदलिँदो जीवनशैली, व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो चेतना तथा वैदेशिक रोजगारीबाट आएको सामाजिक परिवर्तनले पनि दाम्पत्य सम्बन्धमा नयाँ चुनौती सिर्जना गरेको छ। अहिले महिला र पुरुष दुवैले आफू अन्यायमा परेको महसुस भए कानुनी उपचारको बाटो रोज्ने प्रवृत्ति बढेको उनले बताए।
अर्का कानुन व्यवसायी दीपककुमार विश्वकर्माले सम्बन्धविच्छेदका मुद्दा बढ्दै जाँदा पारिवारिक विवाद समाधानका लागि अदालतमा मध्यस्थता सेवाको आवश्यकता पनि बढ्दै गएको बताए। उनका अनुसार समयमै वैवाहिक परामर्श, मनोवैज्ञानिक सहयोग, पारिवारिक संवाद र वैवाहिक शिक्षालाई प्रभावकारी बनाउन सके सम्बन्धविच्छेदका घटनामा कमी ल्याउन सकिन्छ।
कानुन व्यवसायीहरूका अनुसार सम्बन्धविच्छेदका बढ्दो घटनाले एकातिर व्यक्तिगत अधिकारप्रतिको चेतना बढेको देखाए पनि अर्कोतर्फ परिवारभित्र संवाद, सहिष्णुता र आपसी समझदारी कमजोर बन्दै गएको संकेत गरेको छ।



प्रतिक्रिया !