लोक आवाज ,
महोत्तरी, २९ असार । महोत्तरीको एकडारा गाउँपालिकामा सम्पन्न भएका विकास निर्माण योजनाको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत तत्काल निकासाको माग गरेका छन्।
आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भएका विभिन्न विकास योजना सम्पन्न भइसके पनि भुक्तानी प्रक्रिया अघि नबढेको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई तीनबुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी, योजना शाखा प्रमुख बिरेन्द्र मण्डल, प्राविधिक शाखा प्रमुख रोहितकुमार झा तथा लेखा शाखा प्रमुख निरज चौधरी आर्थिक वर्षको अन्तिम समयमा कार्यालयमा अनुपस्थित रहेको आरोप लगाइएको छ। जिम्मेवार कर्मचारीहरूको अनुपस्थितिका कारण प्रशासनिक प्रक्रिया प्रभावित हुँदा करोडौँ रुपैयाँ बराबरको भुक्तानी रोकिएको दाबी गरिएको छ।
ज्ञापनपत्रमा सम्बन्धित कर्मचारीहरूले सरकारी सम्पर्क नम्बरसमेत बन्द गरेर जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै घटनाको छानबिन गरी आवश्यक विभागीय तथा कानुनी कारबाही गर्न माग गरिएको छ।
उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूले अधिकांश विकास योजनाको काम सम्पन्न गरी नियमानुसार कार्य सम्पन्न प्रतिवेदनसमेत गाउँपालिकामा बुझाइसकेको उल्लेख गर्दै भुक्तानी नपाउँदा आर्थिक संकटमा परेको बताएका छन्। उनीहरूका अनुसार भुक्तानीको माग गर्दै असार २६ गतेदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरिएको छ।
मागपत्रमार्फत प्रमुख प्रशासकीय अधिकृतको सरुवा वा रमाना बाँकी भुक्तानी प्रक्रिया पूरा नभएसम्म रोक्नुपर्ने, आर्थिक वर्षको अन्तिम समयमा कार्यालय छाडेको आरोप लागेका कर्मचारीमाथि कारबाही गर्नुपर्ने तथा जिल्ला प्रशासन कार्यालयको पहलमा रोकिएको भुक्तानी तत्काल निकासा हुने वातावरण सिर्जना गर्नुपर्ने माग अघि सारिएको छ।
माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ। उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा समेत पठाइएको जनाइएको छ।



प्रतिक्रिया !