लोक आवाज ,
जनकपुरधाम, २९ असार । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटले आन्तरिक आय वृद्धि, पूर्वाधार विकास र दिगो शहरी उत्थानलाई मुख्य प्राथमिकतामा राखेको छ।
नगरप्रमुख मनोजकुमार साहले नगरसभामा प्रस्तुत गरेको बजेटअनुसार नेपाल सरकारबाट प्राप्त हुने ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, मधेश प्रदेश सरकारबाट प्राप्त हुने करिब २ करोड रुपैयाँ समानीकरण अनुदान, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, सशर्त अनुदान, चालु आर्थिक वर्षको बचत रकम तथा अन्य स्रोतमार्फत बजेट व्यवस्थापन गरिने उल्लेख गरिएको छ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य समेत निर्धारण गरेको छ। राजस्वको दायरा विस्तार गर्दै वित्तीय आत्मनिर्भरता बढाउने योजनालाई बजेटले विशेष जोड दिएको छ।
नगरप्रमुख साहले प्रस्तुत बजेटले नगरको समग्र विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गर्दै नागरिकलाई उपलब्ध गराइने आधारभूत सेवा थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउने उद्देश्य रहेको बताए।
बजेटमा नगर सरसफाइ, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि विकास, रोजगारी सिर्जना, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, नगर सौन्दर्यीकरण तथा शहरी उत्थानशीलता परियोजनालाई उच्च प्राथमिकताका साथ समेटिएको छ।
उपमहानगरपालिकाले विकास निर्माणका कार्यक्रमसँगै सेवा प्रवाहको गुणस्तर सुधार, आन्तरिक आय अभिवृद्धि तथा दिगो शहरी विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।



प्रतिक्रिया !