हरित जनकपुर अभियान सुरु, पहिलो चरणमै दुई हजारभन्दा बढी बिरुवा रोपियो

हरित जनकपुर अभियान सुरु, पहिलो चरणमै दुई हजारभन्दा बढी बिरुवा रोपियो

लोक आवाज ,

जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई हरित, स्वच्छ र वातावरणमैत्री शहरका रूपमा विकास गर्ने उद्देश्यसहित वृक्षारोपण अभियान सुरु गरेको छ। अभियानको पहिलो चरणअन्तर्गत आइतबार नगरको प्रमुख सडक क्षेत्रमा ट्रीगार्डसहित दुई हजारभन्दा बढी बिरुवा रोपिएको छ।

उपमहानगरपालिकाका अनुसार थापा चोकदेखि मुजेलियासम्मको सडक खण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न प्रत्येक बिरुवामा ट्रीगार्डसमेत जडान गरिएको छ।

नगरप्रमुख मनोजकुमार साहले बढ्दो शहरीकरण, वायु प्रदूषण तथा तापक्रम वृद्धिका चुनौतीलाई ध्यानमा राख्दै नगरमा हरियाली विस्तार गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार वृक्षारोपण अभियानलाई चरणबद्ध रूपमा विस्तार गर्दै आगामी चरणमा जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला अदालत हुँदै भैरव चोकसम्मको सडक क्षेत्रमा पनि बिरुवा रोपिनेछ।

नगरप्रमुख साहले हरियाली विस्तारले वातावरणीय सन्तुलन कायम गर्न, हावाको गुणस्तर सुधार गर्न, तापक्रम नियन्त्रणमा सहयोग पुर्‍याउन तथा नगरको सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उपमहानगरपालिकाले सार्वजनिक स्थल, सडक किनारा तथा खाली सरकारी जग्गामा समेत वृक्षारोपण अभियानलाई क्रमिक रूपमा विस्तार गर्ने योजना बनाएको जनाएको छ। साथै, रोपिएका बिरुवाको नियमित हेरचाह, संरक्षण र व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाइने बताइएको छ।

स्थानीय तहले सञ्चालन गरेको यो अभियानले वातावरण संरक्षणलाई टेवा पुर्‍याउनुका साथै जनकपुरधामलाई थप हराभरा, स्वच्छ र व्यवस्थित शहरका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार