लोक आवाज ,
जनकपुरधाम, ०१ असार । मधेश प्रदेश सरकारले एक समय निकै चर्चित रहेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’लाई परिमार्जन गर्दै नयाँ स्वरूपमा सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत उक्त कार्यक्रमलाई ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’का रूपमा अघि बढाइने घोषणा गरिएको हो।
प्रदेश सभामा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले ‘शिक्षित छोरी, सुरक्षित मधेशः उद्यमशील नारी, समृद्ध मधेश’ भन्ने नारासहित महिलाको सीप विकास, उद्यमशीलता प्रवर्द्धन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
मधेश प्रदेशको पहिलो सरकारको कार्यकालमा सुरु गरिएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ प्रदेश सरकारको पहिचान बोकेको महत्वाकांक्षी योजनामध्ये एक मानिन्थ्यो। छात्रालाई साइकल वितरण, छोरी बीमा तथा लोकसेवा तयारी कक्षाजस्ता कार्यक्रमका कारण यसले राष्ट्रियस्तरमै चर्चा पाएको थियो।
तर पछिल्ला वर्षहरूमा कार्यक्रमको प्रभाव घट्दै गएको थियो। विशेषगरी साइकल खरिद प्रक्रियामा अनियमितताको आरोप लागेपछि योजना विवादमा तानिएको थियो। त्यसपछि कार्यक्रमअन्तर्गतका अधिकांश गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा योजना निष्क्रियजस्तै बनेको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले पुरानो कार्यक्रमलाई नयाँ अवधारणा र लक्ष्यसहित पुनर्संरचना गरेको जनाएको छ। नयाँ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम, उद्यम सञ्चालनका अवसर तथा सहुलियतपूर्ण ऋणको पहुँच उपलब्ध गराई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।
प्रदेश सरकारका अनुसार महिला स्वरोजगार कार्यक्रमले महिलाको आर्थिक सहभागिता बढाउनुका साथै परिवार र समाजको समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया !