तीन वर्षमै मन्त्रालयको आधार तयार गरी जिम्मेवारी युवालाई सुम्पिन्छु : मन्त्री महावीर पुन,

तीन वर्षमै मन्त्रालयको आधार तयार गरी जिम्मेवारी युवालाई सुम्पिन्छु : मन्त्री महावीर पुन,

लोक आवाज ,

काठमाडौं , २६ जेठ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आगामी तीन वर्ष आफ्नो सम्पूर्ण समय मुलुकको प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकासमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले नयाँ मन्त्रालयको संस्थागत विकास र प्रविधिमैत्री आधार निर्माणलाई प्राथमिकतामा राख्ने बताएका हुन्।

पदभार ग्रहणका क्रममा उनले आफू सरकारको पूरा पाँचवर्षे कार्यकालभर मन्त्री पदमा नरहने स्पष्ट पार्दै तीन वर्षभित्र मन्त्रालयको आवश्यक संरचना र कार्यप्रणालीलाई बलियो बनाउने लक्ष्य रहेको बताए।

“म यो पदमा तीन वर्ष मात्र रहनेछु। अबको तीन वर्ष दिनरात नभनी देशको प्रविधि विकास र नवप्रवर्तन प्रवर्द्धनका लागि काम गर्नेछु,” मन्त्री पुनले भने।

उनका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ भएकाले सुरुवाती चरणमै यसको बलियो आधार तयार गर्नु आवश्यक छ। मन्त्रालयको संरचना, नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउँदै प्रविधिको क्षेत्रमा तीव्र विकास गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

“ढिलो गतिमा अघि बढेर हामी अपेक्षित गन्तव्यमा पुग्न सक्दैनौं,” उनले भने, “मन्त्रालयको आधारभूत संरचना र प्रणाली स्थापित भएपछि यो जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गरेर म बाहिरिनेछु।”

मन्त्री पुनले नवप्रवर्तन, अनुसन्धान तथा आधुनिक प्रविधिको प्रयोगमार्फत देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने गरी मन्त्रालयलाई सक्रिय बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार