गृहमन्त्री गुरुङको पुनरागमनप्रति एमालेको आपत्ति, संसदीय छानबिनको माग,

गृहमन्त्री गुरुङको पुनरागमनप्रति एमालेको आपत्ति, संसदीय छानबिनको माग,

लोक आवाज ,

काठमाडौँ , २६ जेठ । नेकपा एमालेले गृहमन्त्रीमा सुधन गुरुङको पुनरागमनप्रति आपत्ति जनाएको छ। विपक्षी दलहरूको मंगलबार सिंहदरबारमा बसेको बैठकपछि एमाले प्रमुख सचेतक ऐनबहादुर शाहीले गुरुङको नियुक्तिलाई सुशासनमाथिको “मजाक” भन्दै टिप्पणी गरे।

गृहमन्त्री गुरुङले मंगलबार दोस्रोपटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। एमालेले भने उनीमाथि उठेका सम्पत्ति विवरणसम्बन्धी प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएको छ। शाहीले सरकारले आफ्नै मातहतमा आयोग गठन गरेर आरोपितहरूलाई सफाइ दिने प्रयास गरेको आरोप लगाए।

एमालेका अनुसार सरकारले “सुशासन” को नारा दिए पनि व्यवहारमा पुरानै र जनस्तरबाट तिरस्कृत शैली अपनाइरहेको छ। पछिल्ला आर्थिक विवादहरू, विशेषगरी बीवाइडी गाडी आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई एमालेले गम्भीर रूपमा उठाएको छ। पार्टीले यसलाई “नीतिगत भ्रष्टाचार” र “राज्यविरुद्धको अपराध” को संज्ञा दिएको छ।

शाहीले भने, “कुनै ज्वलन्त प्रश्न उठेपछि सरकारले आफैं आयोग गठन गर्ने, त्यसलाई म्यान्डेट दिने र त्यसैमार्फत आफूलाई सफाइ दिने प्रयास गर्नु सुशासनको भद्दा नमूना हो।”

विपक्षी दलहरूले सरकारद्वारा गठन गरिएका छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम दिन नसक्ने भन्दै संसद्मार्फत उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार