लोक आवाज,
जनकपुरधाम, जेठ २२ , धनुषाको विदेह नगरपालिका–स्थित श्री जनता नमूना माध्यमिक विद्यालय, गिद्धा–बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले आफूविरुद्ध सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रकाशित समाचारहरू भ्रामक, तथ्यहीन र कपोलकल्पित रहेको बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक मण्डलले विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा स्थापित गर्न नागरिक समाज, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवालाको साझा योगदान रहेको उल्लेख गरे। उनले विद्यालयले हासिल गरेको उपलब्धि कुनै एक व्यक्तिको प्रयास नभई सामूहिक प्रतिबद्धता र सहकार्यको परिणाम भएको बताए।
मण्डलका अनुसार विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिरहेको छ। यसले समाजमा विद्यमान अशिक्षा, अन्धविश्वास, कुरीति तथा गरिबी न्यूनीकरणमा सकारात्मक भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ।
“म लामो समयदेखि पूर्ण रूपमा शिक्षण पेशामा समर्पित छु र विद्यालयका शैक्षिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको छु,” उनले भने। विद्यालयमा हाल नगरपालिकाबाट १४ जना नगर शिक्षक खटाइएको जानकारी दिँदै उनले विदेह नगरपालिकाका नगरप्रमुख बेचन दाससँग आफ्नो पुरानो सहपाठीको सम्बन्ध रहेको स्पष्ट पारे।
विद्यालयको शैक्षिक विकासमा पुर्याएको योगदानको कदरस्वरूप आफू राष्ट्रपतिबाट सम्मानित भएको उल्लेख गर्दै उनले नमूना विद्यालय निर्माणको अभियान निरन्तर जारी रहेको बताए।
सामाजिक सञ्जालमा नगरप्रमुखप्रति अभद्र टिप्पणी गरेको आरोपबारे प्रतिक्रिया दिँदै मण्डलले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरे। “नगरप्रमुख बेचन दास मेरा सहपाठी हुन्। उहाँप्रति गालीगलौज वा अभद्र व्यवहार गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन,” उनले भने।
यसै विषयमा नगरप्रमुख बेचन दासले पनि प्रधानाध्यापक मण्डलले आफूलाई कुनै किसिमको गालीगलौज नगरेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा प्रसारित केही सामग्री वास्तविकतासँग मेल नखाने बताएका छन्।
पत्रकार सम्मेलनको अन्त्यमा मण्डलले पत्रकारिताको मूल धर्म निष्पक्षता भएको उल्लेख गर्दै भने, “पत्रकारको धर्म न पक्ष हो, न विपक्ष; पत्रकार सधैं तटस्थ हुनुपर्छ। म कहिल्यै पत्रकारविरोधी होइन।”
कार्यक्रममा विद्यालयका संस्थापक तथा जग्गादाता परिवारका प्रतिनिधि एवं कन्या माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पशुपति मण्डलले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा प्रधानाध्यापक पवन मण्डलको नेतृत्व महत्वपूर्ण रहेको बताए। उनले यस विद्यालयलाई क्षेत्रकै निःशुल्क अंग्रेजी माध्यमबाट अध्यापन हुने एकमात्र सरकारी विद्यालयका रूपमा स्थापित गर्न प्रधानाध्यापक मण्डलको उल्लेखनीय भूमिका रहेको धारणा व्यक्त गरे।
पशुपति मण्डलले पूर्व शिक्षाविद् महावीर पुनले समेत विद्यालयको व्यवस्थापन, पठनपाठन प्रणाली तथा नेतृत्वको प्रशंसा गरेको स्मरण गराउँदै विद्यालयको प्रगतिलाई वास्तविक उपलब्धिका रूपमा चित्रण गरे।



प्रतिक्रिया !