Recent Posts


विवाद र उजुरीपछि मधेशका पाँच जिल्लासहित विभिन्न क्षेत्रमा रास्वपाको अधिवेशन प्रक्रिया स्थगित,

विवाद र उजुरीपछि मधेशका पाँच जिल्लासहित विभिन्न क्षेत्रमा रास्वपाको अधिवेशन प्रक्रिया स्थगित,

लोक आवाज ,

जनकपुरधाम, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले विभिन्न स्थानबाट निर्वाचनसम्बन्धी विवाद र उजुरी प्राप्त भएपछि मधेश प्रदेशका पाँच जिल्लासहित बागमती प्रदेशका केही क्षेत्रमा जारी अधिवेशन तथा निर्वाचनका सम्पूर्ण आगामी प्रक्रिया तत्कालका लागि स्थगन गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकले विवादित क्षेत्रहरूमा भइरहेको वडा, पालिका तथा जिल्ला अधिवेशनसम्बन्धी प्रक्रिया अर्को निर्णय नभएसम्म रोक्ने निर्णय गरेको हो ।

आयोगद्वारा जारी निर्देशनअनुसार जेठ १७ गतेसम्म सम्पन्न भइसकेका प्रक्रिया बाहेकका सम्पूर्ण निर्वाचन गतिविधि स्थगित गरिएको छ । आयोगले सम्बन्धित क्षेत्रबाट प्राप्त उजुरीमाथि छानबिन तथा अन्तिम निर्णय हुन बाँकी रहेकाले निर्वाचन प्रक्रिया रोक्नुपरेको जनाएको छ ।

मधेश प्रदेशअन्तर्गत सप्तरी र सिरहा जिल्लाका विवादित स्थानीय तह तथा वडाहरूमा अधिवेशन प्रक्रिया रोकिएको छ । त्यस्तै, महोत्तरीमा जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, मनरा शिस्वा नगरपालिका र पिपरा गाउँपालिकासहित अन्य विवादित क्षेत्र तथा धनुषामा जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका र गणेशमान चारनाथ नगरपालिकासहितका विवादित क्षेत्रहरूमा पनि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिकामा समेत यही निर्णय लागू हुने आयोगले जनाएको छ ।

बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका तथा अन्य विवादित स्थानीय तह र वडाहरूमा पनि अधिवेशन प्रक्रिया रोकिएको छ ।

आयोगले अर्को आधिकारिक निर्णय वा निर्देशन जारी नभएसम्म कुनै पनि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन प्रदेश, जिल्ला तथा स्थानीय तहका पार्टी संरचनालाई निर्देशन दिएको छ । निर्देशनको अवज्ञा गर्दै सञ्चालन गरिएका कुनै पनि गतिविधिलाई आधिकारिक मान्यता नदिइने आयोगले चेतावनी दिएको छ ।

रास्वपाले निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउनका लागि विवाद समाधानपछि मात्रै बाँकी प्रक्रिया अघि बढाइने जनाएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार