जनकपुरधामका निजी विद्यालयको शुल्कमा सिलिङ्ग, कक्षा १० सम्म मासिक ८ हजार रुपैयाँसम्म मात्र लिन पाइने,

जनकपुरधामका निजी विद्यालयको शुल्कमा सिलिङ्ग, कक्षा १० सम्म मासिक ८ हजार रुपैयाँसम्म मात्र लिन पाइने,

सुनिल साह ,

जनकपुरधाम, १८ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूको मासिक शुल्कको अधिकतम सीमा निर्धारण गरेको छ।

नगर शिक्षा समितिको जेठ १६ गते बसेको बैठकको निर्णयअनुसार विद्यालयको वर्गीकरणका आधारमा शुल्कको सिलिङ्ग तोकिएको हो। उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार अब निजी विद्यालयहरूले तोकिएको सीमाभन्दा बढी शुल्क असुल गर्न पाउने छैनन्।

निर्धारित शुल्क संरचनाअनुसार ईसीडीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका लागि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका विद्यालयअनुसार फरक–फरक शुल्क सीमा कायम गरिएको छ। यसमध्ये ‘क’ वर्गका विद्यालयले कक्षा १० सम्म मासिक अधिकतम ८ हजार रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ। अन्य वर्गका विद्यालयका लागि पनि न्यूनतम तथा अधिकतम शुल्क सीमा तोकिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले मासिक शुल्कबाहेक विद्यालयहरूले विभिन्न शीर्षकमा लिने अतिरिक्त शुल्कसमेत नियमन गरेको छ। विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०८१ तथा संस्थागत विद्यालय मापदण्ड निर्देशिका–२०८१ बमोजिम मात्रै अतिरिक्त शुल्क लिन पाइने उल्लेख गरिएको छ।

शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनामा निर्धारित शुल्क संरचना अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ।

उपमहानगरपालिकाले शुल्क व्यवस्थापनमा एकरूपता ल्याउने, मनपरी शुल्क असुली नियन्त्रण गर्ने तथा अभिभावकमाथि पर्ने आर्थिक भार कम गर्न यो निर्णय प्रभावकारी हुने अपेक्षा गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार