लोक आवाज
पर्सा, १७ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार नाकामार्फत सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयातमा उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा रु ३१ अर्ब ३१ करोड बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सवारीसाधन तथा पार्टपुर्जाको आयात रु ९ अर्ब ६५ करोडले बढेको हो। आयात वृद्धिसँगै राजस्व संकलनमा पनि उल्लेखनीय सुधार देखिएको छ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा सवारीसाधन तथा तिनका पार्टपुर्जाबाट मात्रै रु २० अर्ब ५२ करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व रु १६ अर्ब ६४ करोड रहेको थियो।
तथ्यांकअनुसार समीक्षा अवधिमा रु एक अर्ब २५ करोड मूल्य बराबरका विभिन्न सवारीसाधन आयात भएका छन्, जसबाट रु तीन अर्ब १७ करोड राजस्व प्राप्त भएको छ।
यस्तै, रु सात अर्ब ३२ करोड मूल्य बराबरका ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयात गरिएको छ। ती मोटरसाइकलबाट मात्रै रु सात अर्बभन्दा बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार अधिकारीहरूका अनुसार बजारमा सवारीसाधनको बढ्दो माग, आयात प्रक्रियामा सहजता तथा आर्थिक गतिविधिमा आएको विस्तारले आयात र राजस्व दुवै बढाउन सहयोग पुगेको छ।
मुलुककै प्रमुख व्यापारिक प्रवेशद्वारका रूपमा रहेको वीरगञ्ज नाकाबाट सवारीसाधन आयातको ठूलो हिस्सा भित्रिने भएकाले यस क्षेत्रको व्यापारिक गतिविधिले राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।



प्रतिक्रिया !