लोक आवाज ,
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि कूटनीतिक संवाद र प्रत्यक्ष वार्ताको वातावरण तयार भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा दुवै देशबीच छलफल हुनुपर्ने बताए ।
उनले नेपालले भारतको भूमि अतिक्रमण गरेको तथा भारतले नेपालको भूमि मिचेको भन्ने दाबी दुवैतर्फबाट उठ्दै आएको उल्लेख गर्दै वास्तविक अवस्था अध्ययन र आपसी वार्ताबाट स्पष्ट पार्नुपर्ने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री शाहले आफू नेतृत्वमा आएपछि सीमा सम्बन्धी विभिन्न तथ्य र कागजातबारे जानकारी प्राप्त गरेको बताउँदै लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसँग सम्बन्धित विषयमा नेपालले भारत सरकारलाई पठाएको पत्रको जवाफ प्राप्त भइसकेको जानकारी दिए ।
उनका अनुसार अब दुवै देशका प्रतिनिधिबीच औपचारिक तहमा ‘टेबल टक’ अर्थात् प्रत्यक्ष वार्ता गर्ने वातावरण बन्दै गएको छ । सीमा विवाद समाधानका लागि सम्बन्धित निकायमार्फत निरन्तर कूटनीतिक पहल जारी रहेको उनले बताए ।
प्रधानमन्त्री शाहले ऐतिहासिक नक्सा, दस्तावेज र उपलब्ध प्रमाणका आधारमा दुवै देशबीच सहमतिमार्फत समाधान खोजिने विश्वास व्यक्त गरे ।
नेपाल–भारत सीमा विवाद लामो समयदेखि द्विपक्षीय सम्बन्धको संवेदनशील विषय रहँदै आएको छ । विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर नेपालले आफ्नो दाबी गर्दै आएको छ । सरकारले उक्त विषयलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने नीति कायम राखेको जनाएको छ ।



प्रतिक्रिया !