एमालेले गर्‍यो केन्द्रीय सदस्यहरूको कार्यविभाजन, स्थानीय निर्वाचन केन्द्रित जिम्मेवारी तोकियो,

एमालेले गर्‍यो केन्द्रीय सदस्यहरूको कार्यविभाजन, स्थानीय निर्वाचन केन्द्रित जिम्मेवारी तोकियो,

लोक आवाज ,

काठमाडौँ, १६ जेठ – नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ। पार्टी जागरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित पदाधिकारीबाहेकका नेताहरूलाई पालिका केन्द्रित जिम्मेवारी प्रदान गरिएको हो।

एमाले सचिवालयको जेठ ११ गते बसेको बैठकले कार्यविभाजन प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै नयाँ जिम्मेवारीहरूको सूची सार्वजनिक गरेका हुन्।

कार्यविभाजनमा जिल्ला इञ्चार्ज, जनसङ्गठनका इञ्चार्ज तथा विभिन्न विभागका प्रमुखसमेत तोकिएका छन्। अध्यक्ष ओलीलाई पार्टीका समग्र गतिविधिको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ भने महासचिव पोखरेललाई संगठनात्मक कामको समन्वय तथा केन्द्रीय कार्यालय प्रमुखको भूमिका सुम्पिएको छ।

उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ। त्यस्तै, नौ सचिवमध्ये छ जनालाई प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिएको छ।

पार्टीका अनुसार सचिव हिक्मत कार्कीलाई कोशी प्रदेशका लागि विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख तथा भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख बनाइएको छ।

यस्तै, छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इञ्चार्ज, खगराज अधिकारीलाई गण्डकी प्रदेश इञ्चार्ज, यमलाल कँडेललाई कर्णाली प्रदेश इञ्चार्ज, शेरधन राईलाई कोशी प्रदेश इञ्चार्ज, डा. राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इञ्चार्ज तथा महेश बस्नेतलाई बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ।

नयाँ कार्यविभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई नियुक्त गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। पार्टीले यस व्यवस्थामार्फत संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार