लोक आवाज ,
जनकपुरधाम, १५ जेठ । १९औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति धनुषाले विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले गणतन्त्रको आवश्यकता, यसको उपलब्धि तथा जनताका लागि यसको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विश्वका धेरै मुलुकमा अझै पनि नागरिकले खुला रूपमा आफ्नो अभिव्यक्ति राख्न नपाउने अवस्था रहेको उल्लेख गर्दै नेपालमा गणतन्त्र स्थापनापछि जनताले वाक स्वतन्त्रता, मौलिक हक तथा प्रेस स्वतन्त्रता जस्ता अधिकार प्राप्त गरेको बताए ।
उनले जनताकै छोरा देशको सर्वोच्च पदसम्म पुग्न सक्ने व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रले सुनिश्चित गरेको उल्लेख गर्दै प्राप्त उपलब्धिको संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।
वक्ताहरूले गणतन्त्रले नागरिकलाई अधिकारसँगै अवसरसमेत प्रदान गरेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।
नेपालमा २०६५ साल जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा गरिएको थियो । सोही ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।



प्रतिक्रिया !