लोक आवाज ,
जनकपुरधाम, १२ जेठ – मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूले आफ्ना मागहरू लामो समयदेखि बेवास्ता गरिएको भन्दै मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। माग पूरा नभए जेठ १९ गतेदेखि कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उनीहरूले दिएका छन्।
मधेशी शहिद एवं घाइते हकहित संघर्ष समिति ले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण लाई बुझाएको ज्ञापनपत्रमा मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद परिवार र घाइतेहरूको अवस्था अझै पनि दयनीय रहेको उल्लेख गरिएको छ।
समितिका अध्यक्ष अवधेश प्रसाद ले आन्दोलन र बलिदानको उपलब्धिका रूपमा स्थापित प्रदेश सरकारले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाए।
ज्ञापनपत्रमा शहिद परिवार तथा घाइतेहरूको सम्मान, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र आर्थिक सहुलियतसँग सम्बन्धित विभिन्न मागहरू समावेश गरिएको छ।
समितिले प्रत्येक शहिद तथा घाइते परिवारबाट एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने तथा शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग राखेको छ।
त्यसैगरी ‘मधेशी शहिद तथा घाइते प्रतिष्ठान’ लाई स्वायत्त संस्था घोषणा गर्नुपर्ने, परिचयपत्र उपलब्ध गराउनुपर्ने र बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
ज्ञापनपत्रमा विगतका आन्दोलनका घाइते तथा संघर्षमा सहभागीहरूको योगदानलाई राज्यले अझैसम्म उचित मूल्यांकन नगरेको गुनासो गरिएको छ।
आन्दोलनकारीहरूले सरकारसँग तत्काल वार्ता गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन्।




प्रतिक्रिया !