लोक आवाज ,
काठमाडौँ , १२ जेठ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक साताभित्र प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको अवरोध हटाएका छन्।
महिनामा कम्तीमा एक पटक प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले केही दिनदेखि सदन अवरोध गर्दै आएका थिए। मंगलबारको पहिलो बैठकपछि बसेको दलहरूको छलफलमा रास्वपाले स्पष्ट प्रतिबद्धता जनाएपछि अवरोध खुलाउने सहमति बनेको हो।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी ले संसदमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी दिएका हुन्।
उनले भने, “ब्रेकको समयमा सबै दलका सचेतक तथा प्रमुख सचेतकहरूको बैठक भयो। प्रधानमन्त्री शाह सम्भवतः एक साताभित्र संसद्मा आउनुहुन्छ।”
सभामुख डोलप्रसाद अर्याल ले पनि प्रधानमन्त्री संसदमा आएर सांसदहरूको प्रश्नको उत्तर दिन तयार रहेको सन्देश सदनलाई सुनाएका थिए।
सभामुख अर्यालले भने, “प्रधानमन्त्रीज्यूले निरन्तर रूपमा म सदनमा आएर माननीय सदस्यहरूको प्रश्नको उत्तर दिन तयार छु, म आउँछु भन्ने सन्देश दिनुभएको छ। त्यसैले माननीय सदस्यहरूलाई फेरि पनि अनुरोध गर्दछु।”
सत्तापक्षीय रास्वपाका प्रमुख सचेतकबाटै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने प्रतिबद्धता आएपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीअनुसार अघि बढेको छ।




प्रतिक्रिया !