लोक आवाज ,
काठमाडौँ ,११ जेठ – न्यायिक वरियता मिचेर मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा अन्ततः सुनुवाइ सुरु भएको छ । शर्मा नियुक्त भएर पदभार ग्रहण गरिसकेपछि मात्रै रिट दर्ता गरी प्रारम्भिक सुनुवाइ अघि बढाइएको हो ।
सोमबार न्यायाधीश मेघराज पोखरेल को एकल इजलासमा सिफारिसविरुद्ध दायर तीनवटा रिटमाथि प्रारम्भिक सुनुवाइ भएको छ ।
संवैधानिक परिषद्ले वैशाख २४ गते वरिष्ठतम न्यायाधीश सपनाप्रधान मल्ललाई पन्छाउँदै चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उक्त निर्णयविरुद्ध तत्कालै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, डा. प्रेमराज सिलवाल तथा गीता थापा लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
तर ती रिट दर्ता नगरी दरपीठ गरिएको थियो । दरपीठ आदेशविरुद्ध इजलासमा पेश गरिएका निवेदनहरू समेत सर्वोच्च प्रशासनले दर्ता नगरी रोकिएको आरोप लागेको छ ।
जेठ ४ गतेसम्म निवेदनहरू ‘होल्ड’मा राखिएपछि तत्कालीन कायम मुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्ल ले मुख्य रजिष्ट्रार विमल पौडेल लाई सोही दिन दिउँसो १ बजेसम्म निवेदन दर्ता गरी जेठ ५ गतेका लागि पेसी तोक्न लिखित आदेश दिएकी थिइन् ।
तर आदेश कार्यान्वयन नगरी मुख्य रजिष्ट्रार पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आरोप लागेको छ । त्यसपछि संसदीय सुनुवाइ समितिले जेठ ५ गते नै हतारमा शर्माको अनुमोदन प्रक्रिया टुंग्याएको बताइएको छ ।
उजुरीकर्तासँग छलफल, सुनुवाइ र अनुमोदन प्रक्रिया सम्पन्न गरी सोही दिन शर्माको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । त्यसपछि राष्ट्रपतिबाट नियुक्ति, शपथ ग्रहण र पदभार ग्रहणसमेत एकै दिन सम्पन्न भएको थियो ।
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा भएपछि मात्रै सर्वोच्च प्रशासनले जेठ ६ गते दरपीठविरुद्धका निवेदन दर्ता गरेको हो । दर्तापछि सोमबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।




प्रतिक्रिया !