उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मा, जनकपुरधाममा विवाद,

उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मा, जनकपुरधाममा विवाद,

सुनिल साह ,

जनकपुरधाम, ०८ जेठ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह  ले कानुनी व्यवस्थाविपरीत वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको भन्दै विवाद उत्पन्न भएको छ ।

मेयर साहले शुक्रबार वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साह लाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका हुन् । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरप्रमुख सात दिनभन्दा बढी समय अनुपस्थित हुने अवस्थामा उपप्रमुखलाई कार्यभार दिनुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।

ऐनमा उपप्रमुख पनि अनुपस्थित भएको अवस्थामा मात्रै कार्यपालिका सदस्य वा अन्य सदस्यलाई जिम्मेवारी दिन सकिने प्रावधान रहेको छ । तर, उपमेयर किशोरी साह  जनकपुरधाममै सक्रिय रहेको अवस्थामा वडाध्यक्षलाई जिम्मेवारी दिइएपछि नगरभित्र राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा सुरु भएको हो ।

मेयर, उपमेयर र कार्यवाहक जिम्मेवारी पाएका वडाध्यक्ष तीनै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्ष प्रमेश्वर साह मेयरका निकटस्थ रहेको चर्चा पनि नगरभित्र चलिरहेको छ ।

उपमेयर किशोरी साहले आफूलाई कार्यवाहक जिम्मेवारी नदिइएको विषयमा कुनै जानकारी नदिइएको बताएका छन् ।

“म जनकपुरधाममै छु, विभिन्न कार्यक्रममा सहभागी भइरहेको छु । किन जिम्मेवारी दिइएन भन्नेबारे मलाई जानकारी छैन,” उनले भने, “उहाँहरूको सोच त्यही हो भने अब के गर्ने?”

नगरप्रमुखको निर्णयले स्थानीय सरकार सञ्चालन ऐनको मर्ममाथि प्रश्न उठाएको भन्दै केही जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार