लोक आवाज ,
काठमाडौं , ०६ जेठ । प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र (बालेन) शाहले निर्वाचन प्रणाली तथा मतदाता व्यवस्थापन सुधारसँग सम्बन्धित दुई महत्त्वपूर्ण संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शाहले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ संसद् सचिवालयमा दर्ता गराएका हुन् ।
प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक तथा गृहमन्त्रीको हैसियतमा मतदाता नामावलीसम्बन्धी विधेयक दर्ता गरिएको हो ।
प्रधानमन्त्री तथा गृहमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधिसभामा ती विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्दै प्रस्ताव पेश गरेकी थिइन् ।
सरकारले यी विधेयकमार्फत निर्वाचन प्रणालीलाई समयानुकूल बनाउने तथा मतदाता नामावली संकलन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको जनाएको छ ।
नेपालको संविधानको धारा ८४ को उपधारा (२) अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट बन्दसूचीमार्फत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रस्तावित संशोधनले निर्वाचन प्रणाली र समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया !