लोक आवाज,
जनकपुरधाम, ०६ जेठ । मधेश प्रदेशमा वर्षौँदेखि अतिक्रमणको चपेटामा परेको ४४२ हेक्टर वनक्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा खाली गराइएको छ । वन निर्देशनालय मधेश प्रदेशका अनुसार विभिन्न जिल्लामा सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत उक्त वनक्षेत्र पुनः सरकारी नियन्त्रणमा ल्याइएको हो ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी सर्लाहीमा १७५ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त गरिएको छ । त्यस्तै सप्तरीमा १११ हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, धनुषामा ३० हेक्टर, रौतहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वनक्षेत्र खाली गराइएको जनाएको छ ।
वन क्षेत्रमा लामो समयदेखि खेतीपाती, गोठ निर्माण, होटल तथा पसल सञ्चालनदेखि घर बनाएर बसोबाससमेत हुँदै आएको थियो । अभियानमार्फत त्यस्ता संरचना हटाएर वनक्षेत्र संरक्षणको प्रयास गरिएको निर्देशनालयले जनाएको छ ।
वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगन्नाथप्रसाद जयसवालले मधेशका आठ जिल्लामा अझै १६ हजार ५९९ हेक्टर वनक्षेत्र अतिक्रमणकै अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार थप अतिक्रमित क्षेत्र खाली गराउन सम्बन्धित डिभिजन वन कार्यालयहरूले सूचना जारी गरिसकेका छन् ।
निर्देशक जयसवालले अतिक्रमण हटाउने काम प्रशासनिक प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै राजनीतिक दल, स्थानीय तह र स्थानीय समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
निर्देशनालयको तथ्यांकअनुसार देशभर करिब ४५ प्रतिशत भूभाग वनले ढाकिएको भए पनि मधेश प्रदेशमा भने जम्मा ३ दशमलव ७२ प्रतिशत भूभाग मात्रै वन क्षेत्र रहेको छ । प्रदेशभर कुल दुई लाख दुई हजार २०२ हेक्टर वनक्षेत्रमध्ये करिब आठ प्रतिशत क्षेत्र अतिक्रमणमा परेको जनाइएको छ ।
यस्तै मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये ८९ स्थानीय तहमा वनक्षेत्र नै नरहेको तथ्यांकले देखाएको छ । वन विनाश र अतिक्रमणका कारण वातावरणीय सन्तुलन, जैविक विविधता तथा भू–क्षयको जोखिम बढ्दै गएको भन्दै सरोकारवालाले दीर्घकालीन संरक्षण रणनीति आवश्यक रहेको बताएका छन् ।




प्रतिक्रिया !