मेची–महाकाली जनजागरण अभियान जनकपुरधाममा, चुरे दोहन रोक्न दबाब,

मेची–महाकाली जनजागरण अभियान जनकपुरधाममा, चुरे दोहन रोक्न दबाब,

लोक आवाज ,

जनकपुरधाम, ०५ जेठ । चुरे क्षेत्रको संरक्षण तथा वन विनाश रोक्न माग गर्दै सञ्चालन गरिएको मेची–महाकाली जनजागरण अभियान मंगलबार जनकपुरधाम पुगेको छ।

अभियान टोलीले चुरे दोहन, अवैध उत्खनन तथा नदी–नालामाथिको अतिक्रमणविरुद्ध जनमत निर्माण गर्न हस्ताक्षर संकलन अभियानलाई तीव्र बनाएको जनाएको छ।

अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले पछिल्ला वर्षहरूमा चुरे क्षेत्रमा अवैध रूपमा गिट्टी, बालुवा र ढुंगाको उत्खनन बढ्दै गएको बताए।

उनका अनुसार वन फँडानी, जडीबुटी तस्करी तथा नदी प्रदूषणका कारण वातावरणीय सन्तुलन बिग्रँदै गएको छ। चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारण नदी तथा खोलाहरू सुक्दै र नाङ्गिँदै गएको उल्लेख गर्दै उनले समयमै संरक्षणका प्रभावकारी कदम नचालिए तराई–मधेशमा गम्भीर वातावरणीय संकट आउन सक्ने चेतावनी दिए।

खुला चरिचरण, वन अतिक्रमण तथा नदी किनारमा भइरहेको अव्यवस्थित गतिविधिले प्राकृतिक स्रोतमा प्रत्यक्ष असर परेको पनि उनले बताए।

अभियान टोलीले सरकारसँग चुरे दोहन तत्काल रोक्न, अवैध उत्खननमा संलग्नमाथि कडा कारबाही गर्न, वन अतिक्रमण नियन्त्रण गर्न तथा नदी–नालालाई प्रदूषणमुक्त बनाउन माग गरेको छ।

यसैगरी, चुरे क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण गर्दै दीर्घकालीन संरक्षण नीति लागू गर्नुपर्ने मागसमेत अघि सारिएको छ। अभियानअन्तर्गत देशभर संकलन गरिएका हस्ताक्षर संघीय सरकारलाई बुझाइने आयोजकले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार