रिनाकुमारी साहको चेतावनी– हस्तक्षेप नरोकिए नगरपालिका तालाबन्दी गर्छौं,

रिनाकुमारी साहको चेतावनी– हस्तक्षेप नरोकिए नगरपालिका तालाबन्दी गर्छौं,

लोक आवाज ,

रौतहट, ०५ जेठ । रिनाकुमारी साहले संघीय सरकारलाई मौलापुर नगरपालिकामा भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न चेतावनी दिएकी छन्।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै मेयर साहले संविधान र कानुनअनुसार स्थानीय तह सञ्चालन गर्नुपर्ने अवस्थामा कर्मचारीतन्त्रमार्फत अनावश्यक दबाब र अवरोध सिर्जना गरिएको आरोप लगाइन्।

उनले नगरपालिकाले सञ्चालन गर्दै आएको ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम तथा ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत छोरीहरूको विवाहमा आर्थिक सहयोग उपलब्ध गराउने योजना निरन्तर सञ्चालन हुने स्पष्ट पारिन्।

नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटअनुसार आवश्यक रकम विनियोजन भइसके पनि प्रशासनिक अवरोधका कारण भुक्तानी प्रक्रिया प्रभावित भएको उनको भनाइ छ।

मेयर साहका अनुसार चालु आर्थिक वर्षको सुरुआतमै खटाइएका प्रमुख प्रशासकीय अधिकृत लामो समय कार्यालयमा अनुपस्थित रहेपछि सेवा प्रवाह र विकास कार्यक्रम प्रभावित बनेका थिए। सरकार परिवर्तन, अस्पष्ट निर्देशन तथा आचारसंहिताले पनि काममा असर पुगेको उनले बताइन्।

हाल सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतसमेत नियमित रूपमा कार्यालयमा उपस्थित नभएको तथा बैंक खाता सञ्चालन प्रक्रिया अघि नबढाइएको आरोप उनले लगाएकी छन्। पटक–पटक निर्देशन दिँदा पनि विभिन्न बहानामा भुक्तानी रोक्ने र योजना कार्यान्वयनमा ढिलाइ गर्ने कार्य भइरहेको भन्दै उनले यसलाई स्थानीय सरकारलाई असफल बनाउने प्रयासको संज्ञा दिइन्।

निर्वाचित जनप्रतिनिधिको निर्णय कार्यान्वयनमा कर्मचारीले ‘माथिको आदेश’ भन्दै अवरोध सिर्जना गर्नु स्थानीय स्वायत्ततामाथिको हस्तक्षेप भएको उनको भनाइ छ।

मौलापुर नगरपालिकामा पछिल्ला घटनाक्रमले गम्भीर अवस्था सिर्जना गरेको उल्लेख गर्दै मेयर साहले संघीय सरकारलाई हस्तक्षेप बन्द गर्न आग्रह गरेकी छन्। अन्यथा नगरपालिका बन्द गरी तालाबन्दी गर्न बाध्य हुने चेतावनीसमेत उनले दिएकी छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार