काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई पुनः निरन्तरता,

काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई पुनः निरन्तरता,

लोक आवाज ,

काठमाडौँ , ०५ जेठ । सरकारले अध्यादेशमार्फत पदमुक्त भएका काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीहरूलाई तत्कालका लागि पुनः जिम्मेवारीमा फर्काएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनपछि विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक काम प्रभावित हुन नदिन पुरानै पदाधिकारीलाई निरन्तरता दिइएको हो।

वर्तमान सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरू स्वतः पदमुक्त हुने व्यवस्था गर्दै अध्यादेश ल्याएको थियो। राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि केयूका पदाधिकारीहरू पनि पदमुक्त भएका थिए।

तर, डिन पद रिक्त हुँदा विश्वविद्यालयका प्राज्ञिक र प्रशासनिक गतिविधि प्रभावित बनेपछि मानविकी, शिक्षा, कानुन, इन्जिनियरिङ, व्यवस्थापन, मेडिकल साइन्स र साइन्स सङ्कायका डिनहरूलाई पुनः जिम्मेवारी दिइएको विश्वविद्यालय स्रोतले जनाएको छ।

सरकारको अध्यादेशपछि उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त भएका छन् भने हाल प्रा. डा. ऋषिकेश वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्।

कार्यवाहक उपकुलपति वाग्लेले सोमबार शिक्षामन्त्री पोखरेलसँग भेट गरी विश्वविद्यालयमा देखिएको प्रशासनिक संकटबारे जानकारी गराएका थिए। त्यसपछि मन्त्री पोखरेलले तत्कालका लागि पुरानै डिनहरूलाई निरन्तरता दिन निर्देशन दिएका हुन्।

केयू रजिस्ट्रार कार्यालयले अर्को स्थायी व्यवस्था नहुँदासम्मका लागि मात्र डिनहरूलाई जिम्मेवारी दिइएको जनाएको छ। यस विषयमा थप निकास खोज्न आज पनि शिक्षामन्त्री र विश्वविद्यालय नेतृत्वबीच छलफल हुने बताइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार