लोक आवाज,
जनकपुरधाम, ०३ जेठ । जनकपुर साहित्य महोत्सवको तेस्रो दिन जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा व्यापक बहस भएको छ ।
आइतबार जनकपुरधाममा आयोजित ‘जानकी मन्दिरलाई विश्वसम्पदा: सम्भावना, चुनौती र मार्गचित्र’ विषयक विशेष सत्रमा विज्ञ, पुरातत्वविद्, मन्दिर व्यवस्थापन पक्ष, पत्रकार तथा राजनीतिक प्रतिनिधिहरूले मन्दिरको ऐतिहासिक महत्व, संरक्षणको अवस्था, कानुनी प्रक्रिया तथा राज्यको भूमिकाबारे धारणा राखेका हुन् ।
कार्यक्रमको सहजीकरण नेपाल सरकारका उपसचिव रत्नेश शशीले गरेका थिए । छलफलमा पुरातत्वविद् देवेन्द्र भट्टराई, पुरातत्वविद् रामबाबु ढकाल, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास तथा पत्रकार मनिका झा सहभागी थिए ।
पुरातत्वविद् रामबाबु ढकालले सन् २००८ देखि नै जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयास सुरु भएको जानकारी दिए । उनले विश्वसम्पदामा सूचीकृत हुनुअघि मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताए । परिक्रमा क्षेत्रसहितको भूभाग कानुनी रूपमा संरक्षण क्षेत्र घोषणा भएपछि मात्रै आवश्यक प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो ।
उनका अनुसार सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढे सन् २०३० सम्ममा जानकी मन्दिर विश्वसम्पदा सूचीमा समावेश हुन सक्ने सम्भावना छ ।
पुरातत्वविद् देवेन्द्र भट्टराईले जानकी मन्दिरको विश्वसम्पदा सूचीकरणका लागि प्रारम्भिक गृहकार्य पूरा भइसकेको बताए । उनले आगामी असोज मसान्तसम्म मन्दिर क्षेत्रलाई ‘प्रोटेक्टेड जोन’ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । साथै दुई साताभित्र फिल्ड अध्ययन सम्पन्न गरी सम्बन्धित मन्त्रालयमा प्रतिवेदन बुझाइने उनले बताए ।
भट्टराईले विश्वसम्पदाजस्तो संवेदनशील विषयमा प्रक्रियागत शुद्धता आवश्यक रहेको उल्लेख गर्दै स्थानीय समुदाय, धार्मिक संस्था र राज्यबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
पत्रकार मनिका झाले भने राज्यले जानकी मन्दिर र माता सीतालाई चुनावी नारामा मात्रै सीमित बनाएको आरोप लगाइन् । उनले संरक्षण र प्रवर्द्धनका सवालमा राज्यको सक्रियता कमजोर रहेको टिप्पणी गर्दै मिथिला सभ्यता र सीता संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न दीर्घकालीन नीति आवश्यक रहेको बताइन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिर संरक्षणमा सरकारको भूमिका प्रभावकारी नरहेको दाबी गरे । उनका अनुसार जानकी मन्दिरसहित धेरै धार्मिक संरचना श्रद्धालु र बाह्य सहयोगबाट निर्माण भएका हुन् ।
उनले मन्दिर संरक्षणका नाममा बजेट घोषणा भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको तथा भ्रष्टाचार भएको आरोप लगाए । साथै मन्दिरका ऐतिहासिक सम्पत्ति र जग्गा अतिक्रमण भइरहेका कारण ७२ कुण्ड र ५२ कुटी हराइसकेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
छलफलमा विश्वसम्पदा सूचीमा समावेश भएपछि धार्मिक परम्परा र मठमन्दिरको स्वतन्त्रतामा असर पर्ने आशंकाबारे पनि बहस भएको थियो । यस विषयमा पुरातत्वविद् ढकालले विश्वसम्पदा सूचीमा समावेश हुनु भनेको संरक्षण र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु मात्रै भएको स्पष्ट पारे । उनले धार्मिक अभ्यास, पूजा पद्धति वा मठ व्यवस्थापनमा कुनै हस्तक्षेप नहुने बताए ।
कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य मनिष झाले जानकी मन्दिर व्यवस्थापन पक्षसँग आय–व्यय सार्वजनिक नगर्नुको कारणबारे प्रश्न उठाए । उनले धार्मिक संस्थामा पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै जनविश्वास कायम राख्न आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने बताए ।
साथै उनले पुरातत्व कार्यालयलाई मन्दिरको नाम परिवर्तन गरेर ‘रामजानकी मन्दिर’ नराख्न खबरदारी गरिएको जानकारीसमेत दिए । उनका अनुसार मन्दिरको मौलिक पहिचान र ऐतिहासिक संरक्षण गरिनु आवश्यक छ ।




प्रतिक्रिया !