मधेस सरकारको विश्वासको मत फेरि सर्‍यो, जेठ ८ गतेका लागि सभामुखलाई पत्र,

मधेस सरकारको विश्वासको मत फेरि सर्‍यो, जेठ ८ गतेका लागि सभामुखलाई पत्र,

लोक आवाज ,

जनकपुरधाम ०१ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादव  ले विश्वासको मत लिने कार्यक्रम स्थगित गर्दै जेठ ८ गतेका लागि प्रदेशसभा बैठक मिलाइदिन सभामुखलाई पत्र पठाएका छन्।

यसअघि आजका लागि तय गरिएको विश्वासको मतको प्रक्रिया सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। विशेषगरी जनता समाजबादी पार्टी नेपाल ले समर्थन दिने वा नदिने विषयमा स्पष्ट निर्णय गर्न नसक्दा मुख्यमन्त्रीले कार्यक्रम सार्ने निर्णय लिएको स्रोतले जनाएको छ।

वैशाख २१ गते जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संविधानअनुसार विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए।

जसपा नेपालभित्र मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा फरक–फरक धारणा देखिएको बताइएको छ। केही सांसद विश्वासको मत दिनुपर्ने पक्षमा देखिएका छन् भने केही सांसद विपक्षमा उभिएका कारण दलभित्र आन्तरिक विवाद बढेको छ।

स्रोतका अनुसार यही विवादका कारण मुख्यमन्त्री यादवले सभामुख लाई पत्र पठाएर विश्वासको मतको कार्यक्रम सार्न आग्रह गरेका हुन्।

जसपा नेपालका एक नेताले पार्टी बैठक जारी रहेकाले अहिलेसम्म कुनै औपचारिक निर्णय नभएको बताएका छन्। उनका अनुसार जसपा नेपालमात्र नभई नेपाली कांग्रेस  भित्र पनि केही सांसदले ‘फ्लोर क्रस’ गर्न सक्ने संकेत देखिएपछि मुख्यमन्त्री थप सतर्क बनेका हुन्।

यसैबीच, जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सो पार्टीका मन्त्री महेश यादव र वसन्त कुशवाहा भने अझै सरकारमै कायम छन्। पार्टीका संसदीय दलका नेता चन्दन सिंह ले भने आफ्ना सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान नगर्न ह्विप जारी गरिसकेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार