जनकपुर बमकाण्डका दोषी सञ्जय साहको दाबी– ‘म निर्दोष छु, निष्पक्ष सुनुवाइ गरियोस्’

जनकपुर बमकाण्डका दोषी सञ्जय साहको दाबी– ‘म निर्दोष छु, निष्पक्ष सुनुवाइ गरियोस्’

लोक आवाज ,

काठमाडौँ , ३० बैशाख । संजय कुमार साह  ‘टकला’ले आफू निर्दोष रहेको दाबी गर्दै प्रधानमन्त्री  बालेनलाई पत्र पठाएका छन्।

जनकपुर बमकाण्डका मुख्य योजनाकारका रूपमा दोषी ठहर भई विगत १२ वर्षदेखि  नख्खु   कारागारमा  जीवन बिताइरहेका साहले कारागार प्रशासनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै आफ्नो मुद्दामा निष्पक्ष सुनुवाइको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।

पत्रमा उनले आफूमाथि लगाइएका भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा ज्यानसम्बन्धी मुद्दाहरू आधारहीन रहेको दाबी गरेका छन्। आफ्नो बुबाको नाममा रहेको तथा आफू नाबालक अवस्थामा खरिद गरिएको जग्गालाई समेत भ्रष्टाचारबाट आर्जित सम्पत्ति भन्दै मुद्दा चलाइएको उनको भनाइ छ।

साहका अनुसार तत्कालीन गाविस कपिलेश्वर र लोहना क्षेत्रमा रहेको पैतृक जग्गा हाल जनकपुर उपमहानगरपालिका–१६ मा पर्छ। उनले उक्त सम्पत्तिलाई गैरकानुनी आर्जनको रूपमा चित्रित गरिएको आरोप लगाएका छन्।

त्यस्तै, आफ्नो व्यापारिक फर्मको सात वर्षको कारोबारलाई नै अकुत सम्पत्ति मानेर बिगो कायम गरिएको तर उक्त रकम कुनै समय मौज्दात नरहेको उनले उल्लेख गरेका छन्।

ज्यानसम्बन्धी मुद्दामा गरिएको ‘पोलिग्राफ परीक्षण’ले आफू निर्दोष देखाएको दाबी गर्दै अदालतले सो प्रतिवेदनलाई बेवास्ता गरेको आरोप पनि उनले लगाएका छन्। पोलिग्राफ रिपोर्टलाई ध्यान नदिई आफूलाई जन्मकैदको फैसला गरिएको तथा उक्त मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले जनाएका छन्।

साहले आफूविरुद्ध बयान दिने व्यक्तिहरूमाथि पनि पोलिग्राफ परीक्षण गरिनुपर्ने माग गरेका छन्। साथै, तत्कालीन विशेष अदालत र उच्च अदालत जनकपुरका केही न्यायाधीशहरूको नाम उल्लेख गर्दै प्रमाणको उचित मूल्यांकन नगरी पक्षपातपूर्ण निर्णय गरिएको आरोपसमेत लगाएका छन्।

उनले चर्चित व्यक्तिलाई दोषी ठहर गर्दा आफू इमानदार देखिने प्रवृत्ति न्यायालयमा देखिएको आरोप लगाउँदै आफ्नो मुद्दा कानुनअनुसार समयमै सुनुवाइ नभएको गुनासो गरेका छन्।

साहले आफू २०६४ र २०७० सालमा जनकपुरबाट निर्वाचित जनप्रतिनिधि भएको उल्लेख गर्दै राज्य संयन्त्रको दुरुपयोग गरी आफूमाथि अन्याय गरिएको दाबी गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार