लोक आवाज ,
जनकपुरधाम , ०१ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादव ले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक निर्धारित समयमा बस्न सकेको छैन। बिहान ११ बजेका लागि तय गरिएको बैठक राजनीतिक छलफलका कारण ढिलाइ भएको हो।
सत्ता गठबन्धनभित्रै केही प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गर्न सक्ने संकेत देखिएपछि विश्वासको मतको प्रक्रिया प्रभावित भएको बताइएको छ। विशेषगरी तत्कालीन लोसपा बाट निर्वाचित केही सांसदको भूमिकालाई लिएर सत्ता पक्षभित्र तीव्र छलफल भइरहेको स्रोतले जनाएको छ।
जनता समाज पार्टी नेपाल सँग पार्टी एकता गरिसकेका केही सांसदले विश्वासको मतमा फरक धारणा लिन सक्ने संकेत देखिएपछि दलभित्र आधिकारिक निर्णयमा समेत अन्योल देखिएको एक मन्त्रीले बताएका छन्।
प्रदेश सरकारमा सहभागी जनमत पार्टी ले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संविधानअनुसार विश्वासको मत लिन बाध्य भएका हुन्। मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो।
संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ।
हाल मधेस प्रदेशसभामा १०२ जना सदस्य रहेका छन्। सरकार जोगाउन कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि सत्ता गठबन्धनले आफूहरूसँग ६३ जना सांसदको समर्थन रहेको दाबी गरेको छ।
सरकारलाई नेपाली कांग्रेस का २२, जसपा नेपालका २६ तथा नेपाल कम्युनिस्ट पार्टीकाका १५ जना प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ।




प्रतिक्रिया !