मधेशलाई साक्षर प्रदेश बनाउने अभियान औपचारिक रूपमा सुरु,

मधेशलाई साक्षर प्रदेश बनाउने अभियान औपचारिक रूपमा सुरु,

लोक आवाज ,

जनकपुरधाम , ३० बैशाख । मधेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी अन्तर्गत उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

जनकपुरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा प्रतिवेदन हस्तान्तरणसँगै ‘साक्षर मधेश अभियान’ कार्यान्वयनको औपचारिक घोषणा गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्लेमित पोखरेलले  मधेशलाई साक्षर बनाउने अभियान केवल सरकारी कार्यक्रम नभई सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको बताए। उनले शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधानका लागि संघीय र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

मन्त्री पोखरेलले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

त्यसैगरी, मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले  प्रदेश सरकारले ‘साक्षर मधेश अभियान’लाई विशेष प्राथमिकताका साथ अघि बढाएको बताइन्। उनले निरक्षरता अन्त्यका लागि स्थानीय तह, विद्यालय, अभिभावक तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखिन्।

उनका अनुसार आर्थिक, सामाजिक तथा लैंगिक कारणले अझै शिक्षाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा संघीय सांसद मनिष झाले शिक्षा विकासबिना समृद्ध समाज निर्माण सम्भव नरहेको बताए। उनले बालिका शिक्षा, सीमान्तकृत समुदायको पहुँच र गुणस्तरीय शिक्षामा राज्यले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

सांसद झाले साक्षरता अभियानलाई तथ्यांकमा मात्र सीमित नराखी व्यवहारिक जीवन र सामाजिक चेतनासँग जोड्नुपर्नेमा जोड दिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार