लोक आवाज ,
जनकपुरधाम, २७ वैशाख । मिथिला नगरपालिका–९ मा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुटबल ग्राउण्ड नजिक आज बिहान उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनाको समयमा बसमा ३३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएका १७ जनामध्ये केहीको अवस्था सामान्य रहेको बताइएको छ।
घाइते सबैलाई तत्काल उद्धार गरी मोडल अस्पताल मा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित बनेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।




प्रतिक्रिया !