लोक आवाज ,
जनकपुरधाम, २७ वैशाख । नेपाल प्रहरी साइबर ब्यूरो ले पछिल्लो समय ConnectIPS सँग मिल्दोजुल्दो नाम प्रयोग गरी फिसिङ लिंक पठाएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
साइबर ब्यूरोका अनुसार अज्ञात तथा आपराधिक समूहहरूले विभिन्न मोबाइल नम्बर र OWP_ALERT, AT_ALERT जस्ता नाम प्रयोग गर्दै “Your Account Is Locked” वा “ConnectIPS Account Locked” भन्ने सन्देश पठाएर प्रयोगकर्तालाई नक्कली वेबसाइटमा प्रवेश गराउने प्रयास गरिरहेका छन्।
ब्यूरोले connectips.live, connectips.support, connectips-support.com तथा connectsips.com लगायतका नक्कली लिंकमार्फत प्रयोगकर्ताको व्यक्तिगत विवरण र बैंकिङ सूचना चोरी गर्ने गतिविधि भइरहेको जनाएको छ।
यस्ता फिसिङ लिंक प्रयोग गरी मोबाइल तथा बैंक खातामा पहुँच पुर्याएर रकम चोरी गर्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको साइबर ब्यूरोको भनाइ छ।
साइबर ब्यूरोले सर्वसाधारणलाई शंकास्पद लिंकमा क्लिक नगर्न, बैंकिङ कारोबारका लागि आधिकारिक वेबसाइट तथा आधिकारिक एप मात्र प्रयोग गर्न र आफ्नो बैंकिङ विवरण गोप्य राख्न अनुरोध गरेको छ।
त्यस्तै, कुनै पनि शंकास्पद सन्देश वा लिंक प्राप्त भएमा तत्काल साइबर ब्यूरो, सम्बन्धित बैंक वा सरोकारवाला निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।




प्रतिक्रिया !