भूमि अधिकारको माग गर्दै ढल्केबरमा सुकुमवासीको प्रदर्शन,

भूमि अधिकारको माग गर्दै ढल्केबरमा सुकुमवासीको प्रदर्शन,

लोक आवाज ,

जनकपुरधाम, २७ वैशाख । ढल्केबर मा सुकुमवासी समुदायले भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुकुमवासी बस्तीमा डोजर चलाउने कार्य रोक्न चेतावनी दिएका हुन्।

प्रदर्शनकारीहरूले ‘उठिवास बन्द गर’, ‘भूमि र आवासको अधिकार सुनिश्चित गर’ तथा ‘जीवन र जीविकाको अधिकार कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित ढल्केबर बजार परिक्रमा गरेका थिए। त्यसपछि ढल्केबरस्थित पार्कमा कोणसभा आयोजना गरिएको थियो।

कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियार ले सुकुमवासी बस्ती हटाउनुभन्दा अघि राज्यले वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

उनले वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई बसोबास गरिरहेको जग्गाकै लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले भने, “सुकुमवासी व्यवस्थापनका लागि नीति ल्याउनु सकारात्मक हो, तर उचित व्यवस्थापन नगरी डोजर चलाउनु मानवीय हुँदैन। बसोबास गरिरहेको जग्गाकै स्वामित्व दिनुपर्छ।”

त्यस्तै मिथिला नगरपालिका–३ दिनाभद्री सुकुम्बासी टोल का स्थानीय गोबिन्द सदा ले पनि बस्तीमा डोजर चलाउने तयारी तत्काल रोक्न माग गरेका छन्।

उनले सुकुमवासी समुदायलाई सुरक्षित आवास र लालपुर्जाको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

प्रदर्शनमा सहभागीहरूले जबर्जस्ती उठिवास गराउने प्रयास बन्द गरी सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार