जनमत बाहिरिएपछि पनि मधेश सरकार सुरक्षित, चार दलद्वारा निरन्तरताको निर्णय,

जनमत बाहिरिएपछि पनि मधेश सरकार सुरक्षित, चार दलद्वारा निरन्तरताको निर्णय,

लोक आवाज ,

जनकपुरधाम, २७ वैशाख । जनमत पार्टी सरकारबाट बाहिरिएपछि उत्पन्न राजनीतिक अन्योलबीच मधेश प्रदेश सरकारलाई निरन्तरता दिने विषयमा सत्ता गठबन्धनका चार दल सहमत भएका छन्।

आइतबार जनकपुरधाम मा बसेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल को संयुक्त बैठकले वर्तमान सरकारलाई निरन्तरता दिने औपचारिक निर्णय गरेको हो।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा प्रदेश सरकारलाई स्थायित्व दिन आवश्यक रहेको निष्कर्ष निकालिएको उल्लेख गरिएको छ। गठबन्धन दलहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादव लाई यथाशीघ्र प्रदेशसभाबाट विश्वासको मत लिन आग्रह गर्दै त्यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

गठबन्धन दलहरूले विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउन सरकारलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन्।

यसअघि वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सहमति कार्यान्वयन नभएको, राजनीतिक प्रतिबद्धता पूरा नगरिएको तथा आफ्नो भूमिकालाई कमजोर बनाइएको आरोप लगाउँदै जनमत सरकारबाट अलग भएको थियो।

जनमतको बहिर्गमनपछि मधेश सरकार अल्पमतमा पर्ने र नयाँ राजनीतिक समीकरण बन्ने चर्चा चुलिएको थियो। तर सत्ता साझेदार अन्य दलहरूले एकता कायम राख्ने निर्णय गरेपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार तत्कालका लागि संकटमुक्त देखिएको छ।

गठबन्धन दलका नेताहरूले प्रदेशमा अस्थिरता सिर्जना गर्ने प्रयास सफल हुन नदिने बताएका छन्। यद्यपि राजनीतिक वृत्तमा जनमत पार्टीको बहिर्गमनले आगामी दिनमा मधेश प्रदेशको सत्ता समीकरणमा थप उतारचढाव ल्याउन सक्ने आकलन गरिएको छ।

प्रदेशसभाभित्र दलहरूको अंकगणित, विश्वासको मत प्रक्रिया तथा सम्भावित नयाँ सहकार्यबारे विभिन्न राजनीतिक दलबीच आन्तरिक छलफलसमेत सुरु भएको बताइएको छ।

मुख्यमन्त्री यादवले गठबन्धन दलहरूको समर्थनप्रति आभार व्यक्त गर्दै प्रदेश सरकार जनताको अपेक्षाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले विकास र राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार