जनकपुरधामका ट्राफिक लाइट तीन वर्षदेखि बन्द, भ्रष्टाचार आशंकामा छानबिनको माग,

जनकपुरधामका ट्राफिक लाइट तीन वर्षदेखि बन्द, भ्रष्टाचार आशंकामा छानबिनको माग,

लोक आवाज ,

जनकपुरधाम, २७ बैशाख । जनकपुरधाम मा सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक लाइट तीन वर्षदेखि बिग्रिएर थन्किएका छन्। झण्डै एक करोड रुपैयाँको लागतमा जडान गरिएको ट्राफिक प्रणाली प्रभावकारी सञ्चालनमा आउन नसक्दा यसको पारदर्शिता र खर्चमाथि प्रश्न उठ्न थालेको छ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरेको बजेटबाट मधेश प्रदेश प्रहरी कार्यालय ले ट्राफिक कार्यालयसँगको समन्वयमा मुरली चोक, भैरव चोक, जनक चोक, शिव चोक, भानु चोक र रेल्वे स्टेशन क्षेत्रमा ट्राफिक लाइट जडान गरेको थियो।

२०७९ सालमै जडान गरिएका ती लाइट करिब एक वर्षपछि २०८० भदौदेखि सञ्चालनमा ल्याइए पनि मुरली चोक र भानु चोकमा मात्र करिब एक महिना सञ्चालन भए। अन्य चार स्थानका लाइट भने पूर्ण रूपमा सञ्चालनमै आउन सकेनन्।

तत्कालीन ट्राफिक प्रहरी प्रमुख शेखर साह ले जेब्रा क्रसिङ, स्टप लाइन निर्माण र जनशक्ति अभावका कारण सबै लाइट सञ्चालन गर्न नसकिएको बताएका थिए। ट्राफिक लाइट बिहान ९ बजेदेखि साढे ११ बजेसम्म र बेलुका साढे ४ बजेदेखि ७ बजेसम्म मात्रै सञ्चालन गरिएको थियो।

प्रदेश सरकारले करिब ९८ लाख रुपैयाँ खर्च गरेर जडान गरेको प्रणाली छोटो समयमै बिग्रिएपछि सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म भ्रष्टाचार र अनियमितताको आशंका व्यक्त हुँदै आएको छ। तर अहिलेसम्म कुनै पनि निकायले यसको औपचारिक छानबिन अघि बढाएको छैन।

हालका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले विषयबारे जानकारी लिइने र आवश्यक परे छानबिन गरिने बताएका छन्। उनले ट्राफिक लाइटको मर्मत गरी पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै अनियमितता पुष्टि भए संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताए।

उनले ढल्केवरदेखि जनकपुरधामसम्मको सडकखण्डमा थप ट्राफिक लाइट जडानका लागि आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्ने पनि बताए।

यसैबीच, जनकपुरधामका विभिन्न फुटपाथ तथा सार्वजनिक स्थल खाली गराइए पनि ती क्षेत्र अहिले अव्यवस्थित पार्किङ र फोहोर थुपार्ने स्थानमा परिणत भएका छन्। गंगासागर, धनुषसागर र अरगजा पोखरी आसपासका क्षेत्र सवारी पार्किङ स्थल बन्दै गएपछि प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिका को कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार