कांग्रेसले सदस्यता अद्यावधिकलाई बनायो डिजिटल र प्रविधिमैत्री

कांग्रेसले सदस्यता अद्यावधिकलाई बनायो डिजिटल र प्रविधिमैत्री

लोक आवाज ,

काठमाडौं , २६ बैशाख । नेपाली कांग्रेस ले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई प्रविधिमैत्री र प्रभावकारी बनाउने अभियान सुरु गरेको छ।

देशभरका ६ हजार ७ सय ४३ वटै वडामा उत्साहका साथ सञ्चालन भइरहेको सदस्यता अद्यावधिक कार्यलाई थप व्यवस्थित बनाउन पार्टीले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर सूचीकृत गर्न आग्रह गरेको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले वैशाख २६ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत डिजिटल प्रणालीमा आबद्ध हुन सबै सदस्यहरूलाई अनुरोध गरेका छन्।

१५औँ महाधिवेशनका लागि सदस्यता अद्यावधिक गराइरहेका सदस्यहरूले आफ्नो आधिकारिक मोबाइल नम्बरबाट पार्टीको केन्द्रीय कार्यालयको नम्बर ९७०१२५५५५५ मा सम्पर्क गरी विवरण दर्ता गराउनुपर्ने जनाइएको छ।

पार्टीका अनुसार एकपटक सम्पर्क गरेपछि सदस्यहरूको नम्बर प्रणालीमा सूचीकृत हुनेछ, जसले आगामी सदस्यता प्रक्रिया थप सहज बनाउनेछ। डिजिटल माध्यमको प्रयोगबाट वडा सभापतिहरूलाई सदस्यहरूको विवरण व्यवस्थापन र फारम भर्ने कार्य छिटो तथा प्रभावकारी हुने विश्वास कांग्रेसले लिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार