लोक आवाज ,
काठमाडौं, २५ वैशाख । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) ले बढेर २७४५ अंकमा पुगेको छ । यो अंक आजको मात्र होइन, साताकै उच्च विन्दु समेत बनेको छ ।
बजार खुलेदेखि नै सकारात्मक लयमा देखिएको नेप्से अन्तिम कारोबारसम्म मजबुत रह्यो । यसअघि बिहीबार पनि परिसूचक ६.९४ अंकले बढेको थियो । समग्रमा हेर्दा यो साता बजार सुधारतर्फ उन्मुख देखिएको छ । गत साता नेप्से २७३८ अंकमा बन्द भएको थियो ।
कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढ्दा २६ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
व्यापार समूह बाहेक सबै उपसूचक हरियालीमा देखिएका छन् । बैंकिङ ०.६७, विकास बैंक ०.९५, फाइनान्स १.८७, होटल तथा पर्यटन १.४८, हाइड्रोपावर १.७१, लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह १.१३ प्रतिशतले बढेका छन् ।
आज त्रिशूली जलविद्युत्को शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । होटल फरेस्ट इनज ७.९०, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ६.१२ तथा पियोर इनर्जी ५.३४ प्रतिशतले उकालो लागेका छन् ।
यता, स्वाबलम्बन लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशतले घटेको छ भने फरवार्ड माइक्रोफाइनान्स २.४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर अग्रस्थानमा रहेका छन् ।




प्रतिक्रिया !