जनकपुरधाममा विद्यार्थी भर्ना अभियान सफल, समुदायको उल्लेख्य सहभागिता,

जनकपुरधाममा विद्यार्थी भर्ना अभियान सफल, समुदायको उल्लेख्य सहभागिता,

लोक आवाज ,

जनकपुरधाम, १८ बैशाख — जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८३ लक्षित विद्यार्थी भर्ना अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

‘सबै बालबालिका विद्यालय जाऔं, उज्यालो भविष्य बनाऔं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानमा स्थानीय अभिभावक तथा समुदायको उल्लेख्य सहभागिता देखिएको विद्यालयले जनाएको छ।

वडाध्यक्ष रामचन्द्र पजियार र प्रधानाध्यापक गौरीशंकर लाल कर्णको नेतृत्वमा बैशाख १५ देखि १७ गतेसम्म टोल–टोलमा पुगेर भर्ना अभियान सञ्चालन गरिएको थियो।

अभियानका क्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने र अभिभावकलाई शिक्षाप्रति सचेत गराउने प्रयास गरिएको जनाइएको छ।

वि.सं. २०२९ मा स्थापना भएको उक्त विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म अध्ययनको व्यवस्था रहेको छ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउन आग्रह गरेको छ।

प्रधानाध्यापक कर्णका अनुसार सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो। उनले विद्यालयमा गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राखिने बताए।

अभियानअन्तर्गत नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रमसँगै शैक्षिक सामग्री व्यवस्थापन, सिकाइ वातावरण सुधार तथा पठनपाठनलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको विद्यालय प्रशासनले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार