लोक आवाज ,
जनकपुरधाम, १७ बैशाख — जनकपुरधाममा गुठी जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासी सडक आन्दोलनमा उत्रिएका छन्। गुठीको जग्गामा घर बनाएर बसोबास गर्दै आएका उनीहरूले बालेन शाह नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले सरकारले ‘डोजर आतंक’ मच्चाउन खोजेको आरोप लगाउँदै तत्काल यस्तो कदम रोक्न र प्रभावित परिवारका लागि वैकल्पिक व्यवस्था गर्न माग गरेका छन्। उनीहरूको मुख्य माग आफूहरू बसोबास गरिरहेको जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउनु रहेको छ।
‘गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’को ब्यानरमा संगठित भई स्थानीयहरूले जनकपुरधामका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन्। गुठी जग्गामा बनेका घरटहरा भत्काइने हल्ला फैलिएपछि उनीहरू थप आन्दोलित बनेका छन्।
यसअघि २०६२ सालमा भोजराज घिमिरे नेतृत्वको कार्यदलले जनकपुरधाममा करिब १० बिघा गुठी जग्गा अतिक्रमणमा परेको तथ्य औंल्याएको थियो। त्यसयता पटक–पटक यो विषय उठे पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
प्रदर्शनकारीहरूले सुकुमवासीहरूको उचित व्यवस्थापन नगरी बलपूर्वक घरटहरा हटाउने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्। साथै, वार्ता र समुचित पुनर्वासको विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन्।



प्रतिक्रिया !