लोक आवाज ,
काठमाडौँ, १४ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ। पार्टीले लामो संवाद र सहमतिपछि सांसद भीष्मराज आङ्देम्बे लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो।
पार्टीका सभापति गगनकुमार थापा का अनुसार कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरेको थियो, जसलाई सबै नेताहरूले स्वीकार गरेका छन्।
नेतृत्व चयनमा भएको ढिलाइबारे प्रष्ट पार्दै थापाले यसलाई ‘लाचारी’ नभई ‘परिपक्व निर्णय प्रक्रिया’को संज्ञा दिएका छन्। उनका अनुसार सबै पक्षसँग संवाद र सहमति जुटाउन समय लागेकाले प्रक्रिया केही लम्बिएको हो।
आङ्देम्बेको चयनमा वरिष्ठ नेता अर्जुननरसिंह केसी सहित अन्य आकांक्षी सांसदहरूले पनि सहमति जनाएका थिए। विशेषगरी युवा सांसदहरूले पार्टीको एकताका लागि प्रतिस्पर्धा त्याग्दै सर्वसम्मत नेतृत्वको पक्षमा उभिएका थिए।
सभापति थापाले आङ्देम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र वर्तमान राष्ट्रिय आवश्यकतालाई समेट्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया !