लोक आवाज ,
काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा महाशाखाहरूलाई कार्यक्रम होटल तथा रिसोर्टमा नगर्न स्पष्ट निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको परिपत्रमा वार्षिक कार्यक्रम, तालिम, सेमिनारलगायतका गतिविधि सकेसम्म आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र सञ्चालन गर्न भनिएको छ। यस निर्देशनले सरकारी खर्चमा मितव्ययिता अपनाउने र स्रोतसाधनको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्य राखेको मन्त्रालयले जनाएको छ।
परिपत्रमा मन्त्रालयअन्तर्गतका विभाग, आयोग, प्राधिकरण, प्रशिक्षण केन्द्र तथा अन्य निकायलाई लक्षित गर्दै अनावश्यक खर्च नियन्त्रणमा जोड दिइएको उल्लेख छ। विशेषगरी सहकारीसँग सम्बन्धित कार्यक्रमहरूमा हुने खर्च घटाउन यस्तो निर्णय गरिएको बताइएको छ।
मन्त्रालयले निर्धारित मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्न सबै निकायलाई आग्रह गर्दै सार्वजनिक खर्चमा अनुशासन कायम गर्नुपर्नेमा जोड दिएको छ।




प्रतिक्रिया !